Friday, December 2, 2016

प्रधानमन्त्रीलाई ‘बहुला कुकुरले टोकेको’ भनेपछि संसदमा हंगामा


नेकपा मालेका सांसद सीपी मैनालीले संविधान संशोधन विधेयकको विरोध गर्ने क्रममा प्रधानमन्त्रीलाई ‘बहुला कुकुरले त टोकेको’ भनेपछि संसदमा हंगामा भएको छ ।

व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै माले महासचिव मैनालीले संशोधनको विरोध गरे । उनले दुई राष्ट्रलाई मान्यता दिने गरी संशोधन ल्याएको भन्दै कतै प्रधानमन्त्रीलाई बहुला कुकुरले त टोकेन ? भनेर प्रश्न गरे ।

लगतै कांग्रेस सांसद रामहरि खतिवडाले मैनालीको अभिव्यक्तिप्रति नियमापत्ति जनाए । यो शब्द संसदीय मर्यादा विपरित भएको भन्दै संसदको रेकर्डबाट तत्काल हटाउन माग गरे ।

र, सत्तारुढ दलका सांसदले समर्थन गर्दै हो हल्ला गरे । बोलिरहेका मैनालीले यसलाई सच्याउन खोजे । तर, फेरि त्यही शब्द दोहोर्‍याउनु पुगे । र, संसदमा हो हल्ला चलिरहृयो ।

लगतै सभामुख ओनसरी घर्ती मगरले यो शब्द रेकर्डबाट हटाउन आदेश दिइन् । र, प्रक्रिया अघि बढ्यो ।

तर, विपक्षी दलका सांसदहरुले संशोधनको विरोध गर्दै शुक्रबार पनि संसद बैठक अवरुद्ध पारेका छन् ।